संस्थापक अध्यक्षको सन्देश
अन्न नै ब्रह्म। शरीर नै अन्नमय काण्ड हो। हाम्रो शारीरिक देहको अस्तित्व र धार्मिक तथा लौकिक कार्य गर्ने ऊर्जाका लागि पनि अन्न नै मुख्य आधार हो।
खाना नै समस्त प्राणीमात्रको प्रमुख आवश्यकता हो। आश्रय, वस्त्र र सुरक्षाभन्दा पनि पहिला अन्न चाहिन्छ। शरीरलाई ऊर्जा दिने मुख्य स्रोत पनि अन्न नै हो। भोक नलागी रुचिअनुसार खाना खाएमा रोग लाग्न सक्छ, तर भोक लागेको बेला साधारण खानाले पनि असीम सन्तुष्टि र बल प्रदान गर्छ।
खाना सबैको समान आवश्यकता हो। आध्यात्मिक वा भौतिकवादी, धनी वा गरीब, साथी वा शत्रु जो कोही भए पनि भोक लाग्छ। गरिबी, समय नहुनु जस्ता कारणले बाटो, अस्पताल लगायत कतै कतै धेरैजना भोकले पीडित छन्।
शास्त्रमा भनिएको छ, "भूखालाई खाना दिनु।" आरती भोग परिवारले यही शिक्षाको पालना गर्दै अस्पतालमा रहेका बिरामी तथा उनका वार्दव्य (चाहनेहरू) लाई खाना प्रसादका रूपमा वितरण गर्ने कार्य गर्दै आएको छ। अरुमा रहेको ईश्वरको सेवा नै यो कार्य हो।
अन्नदान सबै दानभन्दा उत्तम छ। दान दिने र लिने दुवै पक्षलाई सन्तुष्टि मिल्छ। अस्पतालमा बिताइ रहेका कठिन समयमा भोकको पीडाबाट राहत पाउन सकियो भने त्यसबाट धेरै ठूलो राहत मिल्दछ भन्ने हाम्रो विश्वास छ।
हामी अन्नलाई प्रसादको रूपमा वितरण गरी असहज अवस्थामा रहनुभएका समस्त असल आत्माहरूको सेवा मार्फत परमात्माको सेवामा लागिरहने छौँ।
प्रेम र दया नै जीवनको प्राण हो, जसको श्वास प्रश्वासमा प्रेम र दया हुन्छ, त्यसैको जीवन सार्थक हुन्छ। निस्वार्थ भावना नै सच्चा दयाको प्रेमको अवस्था हो। अर्को कुरा शक्ति भएको बेलामा नै गर्नुपर्ने कार्य गर्नुपर्दछ। अशक्त अवस्थामा न त केही गर्न सकिन्छ, न त केही गरेमा पनि सफल होइन्छ। जसरी मुठ्ठी बाँध्न प्रयास चाहिन्छ, मुठ्ठी खोल्न पनि प्रयास नै चाहिन्छ। बाटोमा रहेका रोडा, काँडालाई सफा गरेरमात्र हिँडुला भन्ने मानिसको यात्रा कहिल्यै पूरा हुँदैन। जुत्ता लगाएर हिँडेमा रोडा काँडाको बाधा स्वतः हट्दछ र आफ्नो यात्रा पूरा हुन्छ।
हामीले गरेका यिनै सत्कार्यलाई शब्दपुञ्जमा उन्दै स्मरणका लागि यो स्मारिका प्रकाशन गरेका छौँ। यसमा शुभ आशीर्वचन, शुभकामनाका साथै लेख रचना उपलब्ध गराउनुहुने बन्दनीय गुरुवर्गहरू, शुभचिन्तक तथा विद्वत् व्यक्तित्वहरूमा म व्यक्तिगत तथा संस्थागत रूपमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
अन्त्यमा, आरती भोगको सेवा कार्यमा एक-एक मुठ्ठी भएपनि घर परिवार, साथीभाइ, दाताका साथै दृश्य अदृश्य रूपमा मदत गर्ने महानुभावहरूको धार्मिक भावना र दान दातव्य प्रतिको रुचिको साथै भगवानको कृपा र हजुरहरूको आशीर्वादले हाम्रो यात्रालाई सहज बनाएको छ। हामीले मदत दिने र लिनेको संख्या बढाएर सबैको मदत गर्न सकौँ। यही नै आरती भोग परिवारको उद्देश्य हो।